बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु


काठमाडौं – बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको हो।

पहिरोमा परी १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहान करिब ४ देखि ५ बजेको समयमा घरमाथिबाट पहिरो खसेर उनीहरू पुरिएका थिए।

यस्तै, सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ। खोरमा रहेका २५ बाख्रामध्ये ८ वटा पहिरोले बगाएको जनाइएको छ।

घटनाबारे थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।