काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले छाडेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट केहीबेरअघि उनलाई आफन्तको जिम्मा लगाएर घर पठाइएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए।
जबरालाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै प्रहरीले कार्यालयमा ल्याएको थियो। प्रहरीले उनलाई पक्राउ गरिएको नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबरामाथि भौतिक क्षति पुर्याउने गतिविधि हुन सक्ने सूचना पाएपछि राति नै प्रहरी टोली उनको निवास पुगेको थियो।
‘हामीलाई राति नै उहाँको जीवनमाथि गम्भीर खतरा आएको सूचना प्राप्त भएपछि सुरक्षा दिने क्रममा उहाँलाई साथमै लिएर आएका हौँ,’ एसएसपी खड्काले भने।
उनका अनुसार राति करिब ३ बजे प्रहरी टोली जबराको निवास पुगेको थियो। सुरक्षा जोखिमको अवस्थालाई मध्यनजर गर्दै उनलाई प्रहरी कार्यालय ल्याइएको र अवस्था सामान्य भएपछि आफन्तको जिम्मा लगाएर घर पठाइएको हो।


















प्रतिक्रिया