बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार जारी


काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानमा नेपाली सेना खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण र सडक खुलाउने कार्यमा परिचालन भएको छ।

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घर बगाएपछि नयाँ रणभीम गुल्मको टोलीले स्थानीयवासी तथा सरसामान सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेपछि नं. २ वन तथा पर्यावरण सुरक्षा गणको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिरहेको छ। सुस्ता गाउँपालिका–५ मा पनि गोरखदल गणको सुरक्षा बेस त्रिवेणीबाट टोली परिचालन गरी स्थानान्तरण कार्य भइरहेको छ।

पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरिएपछि द फेमस महिन्द्र दल गणको टोलीले खोज तथा उद्धार गरिरहेको छ। धनुषाको मिथिला नगरपालिका–११ आपगाछी, चुरेमा पहिरोले घर पुरेको सूचनापछि पनि सेनाको टोली उद्धारमा खटिएको छ।

चितवनको भरतपुर महानगरपालिका–१ देवघाट र वडा नं. ३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिरहेको छ।

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदोका कारण अवरुद्ध सडक काली भञ्जन गण (ई) को टोलीले स्थानीय निकायसँगको समन्वयमा अवरोध हटाएर सञ्चालनमा ल्याएको छ।