काठमाडौँ । इजरायलमा केयरगिभरका रूपमा रोजगारीमा पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप पीडितलाई सम्पर्कमा आएर जाहेरी दर्ता गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार शाखा र पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको सीआईबीले रामेछापको सुनापती गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअनुसार सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा उत्तीर्ण भएर प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीलाई गिरोहले निशाना बनाएको थियो।
परीक्षामा कुल ३ हजार ४६१ जना उत्तीर्ण भएकामा प्रतीक्षा सूचीमा रहेका १ हजार १५२ जनामध्ये पहिलो चरणमा १५६ जनालाई मन्त्रिपरिषद्को विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने भन्दै उनीहरूले आश्वासन दिएको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ।
आफूहरूको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग प्रत्यक्ष चिनजान रहेको दाबी गर्दै अभियुक्तहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्जी कागजातसमेत तयार गरी पीडितलाई देखाएको पाइएको सीआईबीले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने चाहना र अन्योलमा रहेका युवाको अवस्थाको फाइदा उठाउँदै उक्त समूहले हालसम्म पीडितबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुलेको अनुसन्धानबाट खुलेको सीआईबीको दाबी छ।
पक्राउ परेका चौलागाईंसहित चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। घटनामा प्रलोभन वा अन्य कुनै माध्यमबाट ठगीमा परेका थप पीडितलाई समेत यथाशीघ्र सीआईबीमा सम्पर्क गरी जाहेरी दर्ता गराउन ब्यूरोले आग्रह गरेको छ।




















प्रतिक्रिया