दसैँअघि देशभरका मुख्य सडक सञ्चालनमा ल्याउने तयारी


काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तथा सडक मर्मतसम्भार गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी तीव्र बनाएको छ।

प्राकृतिक विपद्का कारण क्षतिग्रस्त सडक तथा राजमार्गको मर्मत, अस्थायी मार्ग निर्माण र यातायात सञ्चालनका लागि आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइएको सडक विभागले जनाएको छ। विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार क्षतिग्रस्त सडकको सुधार तथा पुनःनिर्माणको काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

“भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडक मर्मतको काम अघि बढाइएको छ,” प्रवक्ता न्यौपानेले भने, “आगामी चार–पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गर्ने तयारी छ। मुस्ताङतर्फको सडक पनि चाँडै सञ्चालनमा आउनेछ।”

उनका अनुसार केही सडकमा यात्राका क्रममा असहजता हुन सक्ने भए पनि सडक अवरोधकै कारण उपत्यकाबाट सर्वसाधारणलाई दसैँका लागि घर जान नपाउने अवस्था नआउने गरी काम भइरहेको छ। खाद्यान्न तथा अत्यावश्यक वस्तुको ढुवानीसमेत पूर्ण रूपमा रोक्न नदिने गरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवा जिल्लाका मुख्य राजमार्गहरूमा ठूलो क्षति पुगेको छ। बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न सडकखण्डमा यातायात प्रभावित बनेको छ।

यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड असोज १० गते आएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड खुलाउने काम पनि अघि बढाइएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर पनि असोज १४ गतेदेखि प्रभावित भएको थियो। हाल उक्त सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। तर ठूला सवारीसाधनको आवतजावत भने अझै सहज हुन नसकेको प्रहरीले जनाएको छ।

यसैगरी, मनाङमा असोज १८ गते आएको बाढीका कारण प्रभावित बेँसीसहर–खाङ्सार सडकखण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक विभाग र सम्बन्धित निकायले बाँकी अवरुद्ध सडकलाई समेत चाँडोभन्दा चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र मर्मतको काम अघि बढाइरहेका छन्।

दसैँका बेला राजधानी काठमाडौँसहित विभिन्न सहरबाट ठूलो संख्यामा सर्वसाधारण आ–आफ्नो घरतर्फ जाने भएकाले सरकारले सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेको छ। विपद्का कारण क्षतिग्रस्त सडकलाई अस्थायी तथा स्थायी उपायमार्फत सञ्चालनमा ल्याएर यात्रु तथा अत्यावश्यक सामग्रीको आवागमन सहज बनाउने तयारी गरिएको हो।