मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ। बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि अचानक पहिरो खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप विशाल खत्रीले चलाइरहेका थिए। पहिरो खस्ने समयमा जिपमा भने कोही पनि सवार थिएनन्। जिपमा यात्रु नरहेकाले घटनामा मानवीय क्षति हुनबाट जोगिएको हो।
पहिरो खसेर जिप पुरिएको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रहरी टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थलको अवस्थाबारे जानकारी लिनुका साथै पहिरोमा पुरिएको जिप निकाल्ने प्रयाससमेत थालेको प्रहरीले जनाएको छ।
घटनास्थल अस्थायी प्रहरी पोस्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ रहेको बताइएको छ। पहिरोका कारण जिपमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
पुरिएको जिप निकाल्ने काम भइरहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया