कुरिनटारमा तीन सवारीको ठक्करले ११ जना घाइते


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

आज बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंंँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका हुन्।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६६ जनाको टोलीले घाइतेहरूको उद्धार गरेको थियो।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त भएको छैन।

तीनवटा सवारीसाधन एकापसमा ठोक्किएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनाका कारण अवरुद्ध सडक खुलाउने प्रयास तथा घटनाबारे थप विवरण संकलन भइरहेको छ।