‘ककाकिकी’को प्रचारबाट भ्रम सिर्जना भएपछि मनोज गजुरेलले मागे माफी


काठमाडौँ । कलाकार मनोज गजुरेलले चलचित्र ‘ककाकिकी’को प्रचारात्मक प्रस्तुतिका कारण दर्शकमा भ्रम र असुविधा सिर्जना भएको भन्दै सार्वजनिक रूपमा माफी मागेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले शनिबार चलचित्रका लागि खिचिएको दृश्य तथा प्रचारात्मक प्रस्तुतिप्रति दुःख व्यक्त गरेका हुन्। उक्त प्रस्तुतिका कारण धेरै दर्शकमा भ्रम उत्पन्न भएको स्वीकार गर्दै उनले दर्शकको भावना र विश्वासप्रति सम्मान व्यक्त गरेका छन्।

गजुरेलले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासलाई प्राथमिकता दिने व्यक्ति भएको स्पष्ट पारेका छन्। तर चलचित्रको प्रचारात्मक प्रस्तुतिमा आफू स्वयं पनि सहभागी हुन पुगेको उल्लेख गर्दै उनले त्यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति क्षमायाचना गरेका छन्।

‘यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

समाजको मनोविज्ञान संवेदनशील रहेको वर्तमान अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नहुने उनको धारणा छ। चलचित्र तथा अन्य सिर्जनाको प्रचार गर्दा दर्शकको संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई समेत ध्यान दिनुपर्ने उनले बताएका छन्।

प्रचारमा सिर्जनशीलता आवश्यक भए पनि त्यससँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुने गजुरेलको भनाइ छ। नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयमा त्रुटि हुन सक्ने उल्लेख गर्दै उनले त्यस्ता गल्ती स्वीकार्नु र सुधार गर्नु सर्जकहरूको दायित्व भएको बताएका छन्।

‘आखिर राम्रो सिर्जनाको सबैभन्दा बलियो प्रचार स्वयं सिर्जनाको गुणस्तर हो,’ उनले लेखेका छन्।

गजुरेलले एउटा चलचित्र धेरै कलाकार, निर्देशक, प्राविधिक तथा अन्य सिर्जनशील व्यक्तिहरूको सामूहिक मेहनतबाट तयार हुने भएकाले प्रचारको कुनै एक प्रक्रिया वा शैलीका आधारमा समग्र चलचित्रको मूल्याङ्कन नगर्न पनि दर्शकलाई आग्रह गरेका छन्।

चलचित्र निर्माणमा संलग्न सबैको मेहनत र योगदानलाई सम्मान गरिदिन अनुरोध गर्दै उनले प्रचारात्मक प्रस्तुतिका कारण सिर्जनाको वास्तविक मूल्याङ्कन प्रभावित नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

उनको यो क्षमायाचनासँगै चलचित्रको प्रचार शैली र त्यसले दर्शकमा पार्ने प्रभावबारे पनि चर्चा सुरु भएको छ। गजुरेलले भने आफ्नो प्रस्तुतिबाट उत्पन्न भ्रमप्रति जिम्मेवारी लिँदै आगामी दिनमा सिर्जनात्मक स्वतन्त्रतासँगै सामाजिक संवेदनशीलतालाई समेत ध्यान दिनुपर्ने सन्देश दिएका छन्।