प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा दुई देशको आपसी विश्वास, व्यापार घाटा न्यूनीकरण, हवाईमार्ग विस्तार, जलविद्युत् तथा पूर्वाधार विकासलाई प्राथमिकता दिन पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन्।

पूर्वपरराष्ट्रमन्त्रीहरूले भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्दै दुवै देशको हित हुने विषयमा ठोस सहमति गर्नुपर्नेमा जोड दिएका छन्।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले व्यापार घाटा कम गर्ने र नेपाली वस्तु तथा सेवाको निर्यातमा सहजीकरण गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए। उनले सीमा समस्या तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा पनि छलफल गर्न सुझाव दिए।

त्यस्तै, प्रदीप ज्ञवालीले आपसी विश्वास अभिवृद्धि, थप हवाई रुट र जलविद्युत् आयोजनाको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए। सुजाता कोइरालाले अधुरा काम पूरा गर्दै हवाईमार्ग विस्तारमा सहमति जुटाउनुपर्नेमा जोड दिइन्।

पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले लगानी, विकास र व्यापारमार्फत सम्बन्ध सुधार गर्नुपर्ने बताए भने विमला राई पौडेलले व्यापार घाटा, विद्युत् व्यापार, हवाईमार्ग र ठूला पूर्वाधारका विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइन्।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते दुई दिने औपचारिक भ्रमणका लागि भारत जाँदै छन्।