सरकारले युरोप, खाडी मुलुक, इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानबाट नेपाल आउन रोक लगाएको छ। मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने निर्णय गरेको हो। यो निर्णयसँगै ती देशमा रहेका नेपाली पनि नेपाल आउन पाउने छैनन्। यो रोक अप्रिल १२ (चैत ३० गते) सम्म लागू हुनेछ।
निर्णयअनुसार युरोपेली तथा खाडी देश, मलेसिया, इरान, दक्षिण कोरिया, टर्की र जापानबाट आउने यात्रुका साथै ती देशलाई ‘ट्रान्जिट’ बनाएर कोही पनि यात्रु नेपाल प्रवेश गर्न पाउने छैनन्। प्रतिबन्ध लागेका देशबाट आउनेहरू प्रतिबन्ध नलागेका देश हुँदै पनि आउन पाउने छैनन्।
सरकारको यो निर्णयले सबैभन्दा धेरै वैदेशिक रोजगारीमा रहेका नेपाली प्रभावित हुने भएका छन्। खाडीसँगै मलेसियाजस्ता देशमा भएका नेपाली विभिन्न कारणले उडान प्रतिबन्धको अवधिमा प्रभावित हुने भएका छन्।
सरकारले उक्त निर्णय गरेपछि सेतोपाटीले फेसबुकमा राखेको प्रश्नमा उक्त क्षेत्रमा रहेका नेपालीहरूले विभिन्न समस्याहरु देखाएका छन्।
अधिकांशले आफ्नै देश फर्किन नपाउने गरी निर्णय गर्नु गलत भएको बताएका छन्। त्यस्तै कतिपयले आफ्नो व्यक्तिगत समस्या प्रस्तुत गरेका छन्।
यसअघि नै भिसा रद्द गरेर २० मार्चपछिको टिकट बुक गरेका, श्रम सम्झौता सकिएका नेपालीहरुले अब के गर्ने भनेर सरकारलाई प्रश्न गरेका छन्। कतिपय देशमा भिसाको म्याद सकिएपछि फेरि बस्नुपर्दा अतिरिक्त शुल्क लाग्ने र त्यसका लागि आफूसँग पैसा नभएको भन्दै सहजीकरण गरिदिन उनीहरूले सरकारलाई आग्रह गरेका छन्।
नेपाली कामदारले स्वदेश फर्किन पाउनु पर्ने बरु क्वारेन्टाइनमा बस्न आफूहरु तयार भएको पनि बताएका छन्।
संयुक्त अरब इमिरेट्समा रहेका अरुण सिर्पालीले लेखेका छन्,’म हाल युएई मा छु, मैले कामबाट राजीनामा दिइसकेको छ। मेरो भिसाको म्याद मार्च २३ सम्म छ। अब मैले भिसा थप गर्न पाउँछु कि पाउँदैन? के हुन्छ? यसमा कोही जिम्मेवार व्यक्तिले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ भने कृपया मलगायत मजस्तै समस्यामा परेकाहरूको उद्दार गरिदिन आग्रह गर्दछु।’
सिर्पालीको जस्तै समस्या अरू नेपालीको पनि छ। युएईमा भएका एक नेपालीले मार्च २१ को टिकट कम्पनीले काटिसकेको र उडान बन्द भएपछि कहाँ जाने भनेर अलमलमा परेको बताएका छन्। आफ्नो भिसाको अन्तिम दिन मार्च २३ भएको र त्यसपछि बसे अतिरिक्त शुल्क लाग्ने उनले बताएका छन्।
‘आफ्नै पैसाले मार्च २८ को टिकट किनेको छु, यता कम्पनीले पनि भिसा क्यान्सिल गरिसक्यो। अब मेरो भिसा पनि छैन, काम पनि छैन, ओभर स्टेको धेरै फाइन तिराउँछ दुबईले, म अब नेपाल कसरी आउन पाउँछु ? मेरो सुरक्षासहितको जिम्मेवारी सरकारले लिनु पर्छ कि पर्दैन? मैले पठाएको रेमिट्यान्सले देश चलाउन सहयोग भएको छ। मलाई नै सुरक्षा नहुने?’ लोकेश मुडभरीले लेखेका छन्।
नेपाल सरकारले प्रतिबन्ध लगाएको अवधिमा भिसाको म्याद सकिने र थप्नका लागि कठिन भएको समस्या दुबईमा धेरै रहेको प्रतिक्रिया आएका छन्। यसका लागि सरकारले सुरक्षाको व्यवस्था गरिदिनुपर्ने कामदारहरुले धारणा छ।
खाडी मुलुकहरुले यसै पनि विदेशीलाई प्रवेश निषेध लगाइसकेका छन्। यस्तोमा भिसा सकिएका नेपालीलगायत विदेशीको भिसा थपिदिने कुरा त्यति सजिलो छैन। यस्तोमा सरकारले कि नेपाल फिर्ता बोलाउनु पर्ने कि सम्बन्धित देशसँग कूटनीतिक पहल गरेर सहज गरिदिनुपर्ने विदेशमा रहेका नेपालीहरूले माग गरेका छन्।
खाडी तथा मलेसियाजस्ता देशमा रोजगारीमा रहेका धेरै नेपालीले आफूहरू बिचल्लीमा पर्ने चिन्ता गरेका छन्। एकातिर भिसाको म्याद सकिएपछि सम्बन्धित देशले भिसा नथपी पठाइदिने र नेपाल आउने उडान नै बन्द हुने अवस्था आएपछि आफूहरू बिचल्लीमा पर्ने चिन्ता गरेका छन्।
साउदी अरबमा भएका सुरज नेपालीले लेखेका छन्-‘साउदी सरकारले देश निकाला गरे कता जानू खै? आफ्नो सरकार कमजोर हुँदा कोही नभएको टुहुरोजस्तो हुँदो रै’छ धिक्कार छ अरबको जिन्दगी।’
नेपालीका मुख्य श्रम गन्तव्य भएका कतिपय देशले डिपोर्ट(देशनिकाला) गर्न सुरू गरिसकेको र अब आफ्नै देश पनि जान नपाइने भएपछि के हुने हो भने नेपालीलाई थप चिन्तित बनाएको छ।
‘अनि कतार सरकारले लखेटे कुन दुलोमा जाने हामी नेपाली? उसै त मार्केट जाने क्रममा समाते २५० जना नेपाल पठाइसक्यो,’ हाल कतारमा रहेका मणि लामाले लेखेकी छन्।
विदेशमा भएका नेपालीहरूले सरकारले आफ्नै नागरिकलाई प्रतिबन्ध लगाउनुअघि सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग गरेका छन्।
‘अप्रिल १ को लागि टिकट लिएको करिब १ महिना भन्दा बढी भयो! अन्य मुलुकहरूले आफ्ना नागरिकलाई आफ्नै देशमा फिर्ता बोलाएर क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन्। नेपालले हामीजस्ता नागरिकलाई प्रत्यक्ष असर पार्ने गरी निर्णय गर्दा थोरै सोच्नु पर्ने हो। अर्कोतर्फ रोग लाग्नभन्दा सावधानी अपनाएको कुरा पनि स्वागतयोग्य छ,’ हाल स्पेनमा भएका सुरेश बरालले लेखेका छन्।



















प्रतिक्रिया