प्रचण्ड र माधब नेपाललाई ओलीको जवाफ : राजीनामा दिन्नँ सकेको कदम चाल्नू !


नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटमा प्रचण्ड र नेपालले यस्तो सुझाव दिएका हुन्। सो भेटघाटमा केहीबेर महासचिव विष्णु पौडेल समेत सहभागी थिए।

‘प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै नेताले राजीनामा दिन भन्नुभएको हो। प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै उहाँहरूले राजीनामा दिन सुझाव दिनुभएको हो,’स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिनु भएको थियो।’

तीन नेताको छलफल सकारात्मक नभए पनि शुक्रबारको स्थायी समिति बैठक बोलाउनका लागि भने सहमति भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू स्थायी समिति बैठक सामना गर्न तयार रहेको जवाफ समेत प्रचण्ड-नेपाललाई दिएका थिए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन् । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबारको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि बिहीबार तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

सोही छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाएका हुन् । स्रोतका अनुसार ओलीले पनि दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् ।

दुवै समूहले आ–आफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ । आजको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको बताए । उनका अनुसार शुक्रबारको स्थायी कमिटी बैठक स्थगित नगर्ने सहमति पनि छलफलमा भएको छ ।

मंगलबार र बुधबार ओलीसँग भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए । दाहाल र नेपाल बालुवाटार जानुअघि दाहाल निवास खुमलटारमा यस समूहका सचिवालयका ६ नेताको बैठक भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार खुमलटारमा भएको सहमतिअनुसार दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन ओली आग्रह गर्ने र नदिने अडान दोहोर्‍याए थप कदम चाल्ने जानकारी दिने सहमति भएको थियो ।

एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले दाहाल र नेपाल एउटै समूहमा छन् । १० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोर्‍यारहेका छन् ।

बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको एकल नेतृत्व लिन आग्रह दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहाल–नेपाल समूह तत्काल ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने पक्षमा छन् ।