जिल्लाको बाह्रबिसे नगर ९ स्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रको फार्मेसीको झ्याल फोडेर शनिबार राति १२ बजे सिरिन्जसहित महत्त्वपूर्ण औषधि चोरी भयो । इलाका प्रहरी बाह्रबिसेबाट खटिएका सुरक्षाकर्मीले आरोपीलाई स्वास्थ्यकर्मीले दिएको सूचनाको आधारमा चारैतिर खोज्यो र दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार आइतबार बेलुकी औषधि चोरीमा संम्लग्न बाह्रबिसे नगर ९ का २४ वर्षीय अनिश राउत र भारतको मोतिहारी जिल्ला पकडोदयाल थाना सिसहानी गाउँका १९ वर्षीय रोशन पाण्डे नियन्त्रणमा छन् । यी दुई युवा बस्ने बाह्रबिसे बजारको कोठामा खनातलासी गर्दा लागू पदार्थमा प्रयोग हुने सिरिन्ज, फर्मुला औषधि पाइएको इन्स्पेक्टर न्यौपानेले बताए ।‘फार्मेसी फोर्ने औषधि चोर खोज्दै जाँदा लागूपदार्थ दुर्व्यसनी गर्ने गिरोहमध्ये दुई जना फेला परेका छन्, दुवैबारे आवश्यक कानुनी प्रक्रिया सुरु गरेका छौं, थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक न्यौपानेले भने ।
यसअघिदेखि स्वास्थ्यकर्मीले रातपिच्छै अज्ञात समूहबाट अस्पतालमा हुने गतिविधिबाट दिक्क भएर जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गुहार माग्दैआएका छन् । ‘यस्तो घटनापछि यसक्षेत्रको इलाका भेगमा सुरक्षा सर्तकता कडा बनाएका छौं, चाज र परीक्षणलाई तीव्र बनाइरहेका छाैं,’ प्रहरी निरीक्षक न्यौपानेले भने । त्यसैमाथि बाह्रबिसे नगर क्षेत्रभर भएका १६ मध्ये १४ वटा नै सिसिटीभी बिग्रिएको मर्मत नहुँदा चोरीमा संलग्न गिरोह सक्रिय भएपछि स्थानीय त्रसित भएको स्थानीय सभाका संयोजक उद्धवबहादुर तिवारीले बताए । ‘सिसिटीभी बिग्रिएको थाहा पाएपछि यस्ता घटना हुने क्रम बढ्ने त्रासमा स्थानीय छन्, यो डर मेटाउन जनप्रतिनिधिलाई आग्रह गर्दै आएका छाैं,’ उनले भने ।
प्रतिक्रिया