ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौं ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा


विवेकशील साझा पार्टीबाट अलग भएकी रञ्जु दर्शना (न्यौपाने)ले आउँदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। शनिवार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

हाल स्वतन्त्र रहेकी उनले स्वतन्त्र उम्मेदवारी दिन्छिन् या कुनै पार्टीमा दिन्छिन् भन्ने चाहिँ खुलाएकी छैनन्। दर्शना केही समय पहिले विवेकशील साझा पार्टीबाट अलग भएकी थिइन्। आउने संघीय चुनावमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ। आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु ,’ उनले लेखेकी छन्।

उनले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनेहरूलाई फर्म भर्न अनुरोध गर्दै एउटा लिंक पनि उपलब्ध गराएकी छन्। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए।त्यसबेला यो क्षेत्रमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए।