कैलाली– दार्चुलाकी एक किशोरी प्रहरीकै अगाडी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।
शनिबार साँझ करिब ६ः१५ बजेतिर ती किशोरी हाकाली नगरपालिका–४ रिङ्नेतालबाट महाकाली नदीमा हाम फालेकी थिइन् । उनी दुहु गाउँपालिका–४ थाराकी बस्ने १७ वर्षीया धनिसा कुँवर रहेको बताइएको छ ।
स्थानीयले किशोरी नदीमा हाम फाल्ने मनशायले नदी किनारमा पुगेपछि प्रहरीलाई खबर गरेका थिए । सो सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । उनलाई नदीमा हाम नफाल्न स्थानीय र प्रहरीले सम्झाइबुझाइ गरेका थिए ।
तर उनी नदी किनारबाट फर्कन नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । प्रहरी आफ्नो नजिक आइपुगेपछि उनी नदीमा हाम फालिन् । उनी नदीमा हाम फाल्ने बित्तिकै प्रहरीले खोजीकार्य सुरु गरेको थियो । तर उनलाई फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
हालसम्म उनले नदीमा हाम फाल्नुको कारण खुल्न सकेको छैन । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।
प्रतिक्रिया