काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारका लागि पार्टी सचिवालयको बैठक बोलाएका छन् । पतञ्जली जग्गा भ्रष्टाचारमा नेपाल धरौटीमा रिहा भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने गरी सचिवालय बैठकमा सांगठनिक र समसामयिक राजनीतिक विषयमा छलफल हुने एकीकृत समाजवादीका सचिव गणेश विकले जानकारी दिए।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने तयारी रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा बुधबार राति विशेष अदालतले फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी माधवकुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिकासमेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षका लागि नगदै ३५ लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नु, उल्लिखित माग गरिएको धरौटी रकम वा बैंक जमानत दिन नसके विशेष अदालत नियमावली २०८० को नियम ३० को उपनियम (२) बमोजिम निज प्रतिवादीलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू,’ विशेषले आदेशमा भनेको थियो ।
२०६४ को संविधानसभा निर्वाचनका बेला नेपाल एमालेको महासचिव थिए । चुनावमा एमाले तेस्रो पोजिसनमा खुम्चिन पुग्यो । नेपाल, केपी ओलीसहित एमालेका प्रायः सबै शीर्ष नेता पराजित बनेका थिए । चुनावमा पार्टीको पराजयसँगै नेपालले आफू महासचिवमा बस्न नैतिक आधारले नमिल्ने भन्दै पदबाट राजीनामा दिएका थिए । अहिले उनीमाथि भ्रष्टाचारको मुद्दा लागेको छ । तर पार्टी सचिवालय बैठकमा उनले अध्यक्षको हैसियतले अध्यक्षता गर्लान् कि कार्यबाहक अरु कसैलाई देलान् भन्ने खुलिसकेको छैन ।














प्रतिक्रिया