काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले घुसकाण्डमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले भूमि विधेयक फास्ट ट्र्याकबाट पास गरौं भन्ने प्रस्तावले शंका उत्पन्न गराएको भन्दै आपत्ति जनाएका छन्। पोखरा जग्गा घुस प्रकरणमा मुछिएका एमालेका दुईमध्ये एक भूमिमन्त्री अझै पदमा बसिरहेकै अवस्थामा एमालेको प्रस्ताव स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफनो भनाइ सार्वजनिक गर्दै नेता कोइरालाले पोखरा जग्गा घुस प्रकरणमा एक जना मन्त्रीले राजीनामा दिइसक्दा अर्को आरोपित मन्त्री अधिकारीकै नेतृत्वमा फास्ट ट्र्याकबाट एमालेले भूमि विधेक पारित गराउन लागेको भन्दै आपत्ति जनाएका हुन्। उनले घुसकाण्डमा आरोपित मन्त्रीकै अगुवाईमा भूमी विधेयक फास्ट ट्रयाकमा ल्याउन लागेको बारे आपत्ति जनाउँदै भनेका छन्, ‘यो अवस्थालाई छुट्टाछुट्टै मान्न सकिँदैन, एमालेको दबाबले प्रशस्त शंका उब्जाएको छ।
नेपाली कांग्रेसले खोजेको सुशासन यस्तो होइन।’ कोइरालाले घुसकाण्डमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलियामाथि निष्पक्ष छानबिन हुनुपर्ने र भूमि विधेयक उनले फास्ट ट्र्याकबाट नभई संसदीय समितिमा गहन छलफलमार्फत मात्र अघि बढाउनुपर्ने बताए। पोखरा जग्गा प्रकरणमा घुस डिल भएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका समान्यप्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्।
उनको बारेमा अख्तियारले समेत छानबिन गर्दैछ। तर सोही जग्गा प्रकरणमा घुस डिलमा आरोपित भूमी व्यवस्थामन्त्री अधिकारीले भने अझै राजीनामा दिएका छैनन । बरु उनी अडियो रक्सी खाएर उत्पादन गरेको र आफ्नो सहभागिता नभएको भनेर पदमा बसिरहेका छन्।














प्रतिक्रिया