मन्त्रिपरिषद् पुनर्गठनको हल्लाबीच देउवा निवासमा कांग्रेस बैठक


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठक जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बिहानैदेखि बैठक बसेको हो । पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल छन् ।

सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री फेरबदलको चर्चा चलेको छ । ओलीले आफूले सरकारका मन्त्रीहरू फेर्न लागेको भनेर देउवालाई जानकारी गराइसकेका छन् । तर देउवाले मन्त्री फेर्ने भए एमालेकै मात्र गर्न, कांग्रेसका मन्त्रीहरू कायमै रहने जनाउ दिएका छन् । तर प्रधानमन्त्री ओलीले निकै दबाब दिएपछि देउवाले आजका लागि कांग्रेस शीर्ष नेताको बैठक बोलाएको नेताहरुको भनाइ छ ।