काठमाडौं l नेपाल प्रहरी कार्ययोजना–२०८० तथा आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा कार्यक्रम आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रम प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको उपस्थितिमा सम्पन्न भएको हो।

सोही अवसरमा आईजीपी थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख/प्रतिनिधिहरूबीच आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौतामा आईजीपी थापासहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक बहादुर तामाङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक एआईजी डा. सुन्दर प्रसाद ह्योजु, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी चन्द्र कुबेर खापुङ, प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी कृष्ण हरि शर्मा, मानवस्रोत विकास विभाग प्रमुख एआईजी दान बहादुर कार्की, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी राजन अधिकारी र कार्य विभाग प्रमुख एआईजी शिद्धि विक्रम शाहबीच हस्ताक्षर भएको हो।
त्यस्तै, आईजीपी थापा र प्रधान कार्यालय अन्तर्गत प्रदेश समन्वय विभागका प्रमुख एआईजी डा. मनोज कुमार केसी तथा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख/प्रतिनिधिबीच भर्चुअल माध्यममार्फत पनि सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्बोधनका क्रममा आईजीपी थापाले आन्तरिक सुदृढिकरणलाई आधार मानेर तयार गरिएको कार्ययोजनाअनुसार गत वर्षको कार्यसम्पादन अवस्था सन्तोषजनक रहेको बताए। उनले आगामी वर्षका लक्ष्यहरू समयमै पूरा गर्न सबै तहका प्रहरी सदस्यहरू एकजुट भएर कटिबद्धतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।














प्रतिक्रिया