देउवा भोलि स्वदेश फर्किंदै, महाधिवेशनको किचलो उस्तै


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने भएका छन् । स्वास्थ्य उपचार सकेर उनी श्रीमती आरजु राणा देउवासहित भोलि फर्किने भएका हुन् । कात्तिक ११ गते उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान गरेका थिए ।

सभापति देउवा १७ दिनको विदेश बसाइपछि स्वदेश फर्किंदैछन् । सिंगापुरको क्विन एलिजाबेथ अस्पतालमा देउवा र पत्नी आरजु देउवाको स्वास्थ्य उपचार गरिएको देउवा निकट स्रोतले जानकारी दिएको छ । जेनजी आन्दोलनका बेला भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमै देउवामाथि सांघातिक आक्रमण भएको थियो । एक महिना लामो उपचारपछि दुवैजना अस्पतालबाट डिस्चार्ज भएका थिए ।

असोज २८ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा देउवा उपस्थित भएका थिए । सोही बैठकमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेका थिए । कांग्रेस बैठक हालसम्म पनि जारी छ । केन्द्रीय सदस्यले सकेपछि पदाधिकारीले बोल्ने क्रम सुरु भएको छ ।

देउवाको अनुपस्थितिले पछिल्ला दिनमा पार्टीको केन्द्रीय समिति बैठकमा निर्णय प्रक्रियामै ढिलाइ भएको देखिएको छ । उनी स्वदेश फर्किएलगत्तै पार्टीको १५औ महाधिवेशनलगायतका बाँकी कार्यसूचीका विषयमा निर्णय लिइने नेताहरूले बताएका छन् । कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद उत्कर्षमा छ । विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकाले विषय पेचिलो बनेको हो ।