एमाले कार्यालयमा ओली र पोखरेल समूहबीच कुटाकुट


काठमाडौं । महाधिवेशन आउन एक साताअघि नै एमालेमा नेता कार्यकर्ताबीच कुटाकुट भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टीका कार्यकर्ताबीच हात हालाहाल भएको हो ।

आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रवार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए । उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए । त्यहीबेला अर्को समूहसँग उनीहरूको हात हालाहाल भएको हो ।

एमालेको महाधिवेशन उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदै छ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी जनजाति लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू च्यासल पुगेका थिए । सो क्रममा उनीहरूले चर्को स्वरमा डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए ।

शुक्रबार एमालेले पार्टी कार्यालयमा खुल्ला रक्तदानको समेत आयोजना गरेको थियो । कार्यालयमा एमाले महासचिव शंकर पोखरेललगायत उपस्थित थिए । एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच तिक्तता बढ्दै गएको छ । यसले आगामी दिनमा एमालेको महाधिवेशनमा ठूलै रुप लिने संकेत गरेको छ ।