सर्वोच्चको आदेशले रोकियो हेटौंडा बजारको सडक विस्तार, रास्वपा पूर्वसांसदले हालेकी थिइन् रिट


काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि हेटौंडा बजार क्षेत्रको सडक विस्तार रोकिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबारदेखि बजार क्षेत्रको सडक दायाँबायाँ २५–२५ मिटर विस्तार गर्न सडक छेउका भौतिक संरचना हटाउने तयारी गरेको थियो ।

सडक विस्तार योजनालाई लिएर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले सडक विस्तार कार्यमा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेशमार्फत संरचना नहटाउन निर्देशन दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वसांसद विन्दबासिनी कंसाकारले मंसिर १६ गते दायर गरेको रिटमाथि शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गर्दै हेटौँडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार कार्यमा तत्काल रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। यो आदेशसँगै अब एक सातासम्म काम रोकिएको छ ।

अदालतले मंसिर २६ गते अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुनसमेत आदेश दिएको छ। सडक डिभिजन कार्यालयले भत्काउने तयारी गरिरहेको समयमा अदालतको आदेशले सम्पूर्ण प्रक्रिया अन्योलमा परेको छ।


रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सडक डिभिजन कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयलगायत विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाऊ आदेश जारी गरेको छ। कंसाकारको घर तथा उनका बुबाले सञ्चालन गर्दै आएका व्यवसाय सडक सीमाभित्र पर्ने उल्लेख गर्दै, मुआब्जा तथा क्षतिपूर्तिको व्यवस्था नगरी बलपूर्वक संरचना हटाउन खोजिएको भन्दै उनले उत्प्रेषण रिट दायर गरेकी थिइन्।
सर्वोच्चका सूचना अधिकारी उपरजिस्ट्रार नीराजन पाण्डेका अनुसार पूर्वसांसद कंसाकारले उत्प्रेषण आदेश मागेकाले तत्काल काम रोकिन्छ। तर, आदेश कुन–कुन क्षेत्रमा लागू हुन्छ भन्ने कुरा मुद्दाको मिसिल र नक्सा अध्ययन गरेपछि मात्रै स्पष्ट हुने उनले बताए। सडक डिभिजन कार्यालयले अदालतको आदेशकै कार्यान्वयन गर्न सडक विस्तार गर्न लागेको जनाएको थियो ।