एमाले महाधिवेशनको मुखमै नागढुंगा–नौबिसे सडक बन्द


काठमाडौँ । एमालेको १५औं राष्ट्रिय महाधिवेशनको मुखमै बुधबारदेखि एक सातासम्म नागढुंगा–नौबिसे(सडक खण्ड दैनिक पाँच घन्टा बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्रभन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकैपटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।

आजदेखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द गर्न लागिएको हो । आयोजनाम कार्यालयले उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई अनुरोध पनि गरेको छ ।
अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन जस्ता सवारीसाधनहरुको हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ ।

नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएक छ ।

एमाले नेता महेश बस्नेतले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङकै निर्देशनमा महाधिवेशनको मुखमा नागढुंगा–नौबिसे सडकमा यातायात अवरोध गरेको आरोप लगाएका छन् । एमालेले मंसिर २७ गते महाधिवेशन उदघाटनका दिन पाँच लाख मानिस ओराल्ने दाबी गरेको छ । तर नागढुंगा–नौबिसे सडकमा यातायात बन्द भएकाले केही असर पर्ने देखिन्छ ।