काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दैछ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो ।
सरकारी टोली बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने छ । त्यसपछि दिउँसो १ बजे एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी) को कार्यालय पेरिसडाँडा पुग्नेछ ।
सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरुसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गर्ने बताइएको छ ।
भदौ २४ गते जेनजी युवाहरुले कांग्रेस, एमाले, तत्कालीन माओवादीलगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी गरेका थिए । निर्वाचनको माहोल बनाउन सरकार अब प्रमुख दलका पार्टी कार्यालय र शीर्ष नेतासँग संवादमा जुटेको छ ।














प्रतिक्रिया