सभापति बनेपछि गगन थापा भोलि पार्टी कार्यालय प्रवेश गर्दै


काठमाडौं । सर्वोच्च अदालतले पनि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई नै मान्यता दिएपछि कांग्रेस विवाद मत्थर भएको छ । यद्यपि सर्वोच्चले १५ दिनभित्र दुवै पक्षसँग छलफल गरी फैसला सुनाउने भएको छ । कांग्रेसमा देखिएको विवाद र किचलो समेत साम्य भएर एकढिक्का भएर चुनावमा होमिएपछि गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपा जाने भएको छ । पुस ३० गते गगन सभापति निर्वाचित भएका थिए।

गगन नेतृत्वको कार्यसमिति केन्द्रीय कार्यालय सानेपा अहिलेसम्म गएका थिएनन्। दुईवटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटलहरूमा बसेको थियो। कांग्रेस प्रवक्ता देवराज चालिसेले भोलि केन्द्रीय कार्यालय जाने जानकारी दिँदै त्यहीँ केन्द्रीय समिति बैठक पनि बताए ।

अधिकांश नेताहरू प्रतिनिधिसभा निर्वाचनका लागि आ(आफ्नो क्षेत्र गइसकेकोले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको उनको भनाइ छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका तरूण दलका नेता कार्यकर्ताहरू केही दिन केन्द्रीय कार्यालय सानेपामै बसेका थिए। अदालतको आदेशसँगै उनीहरूले केन्द्रीय कार्यालय छाडिसकेका छन्। तरूण दल अध्यक्ष विद्वान गुरूङले एक विज्ञप्ति जारी गर्दै चुनावमा होमिन आग्रह गरेका छन्।