सर्लाही ३ मा प्रभाव बढाउँदै कांग्रेस उम्मेदवार खनाल


काठमाडौं । सर्लाही ३ मा यसपटक नेपाली कांग्रेसले विनोद खनाललाई उम्मेदवार बनाएको छ । यसअघिका दुई निर्वाचनमै उनले सर्लाही ३ बाट टिकट पाउनुपर्ने थियो । तर नेतृत्वले सधैं पैसावाल हरेश महतोलाई मात्रै टिकट दिँदा खनालमाथि ठूलो अन्याय भएको थियो । खनालले न्याय पाउन गगन थापा नै सभापति हुनुपर्यो ।

लामो समयदेखि उनले गरेको योगदानका आधारमा खनाललाई टिकट दिइएको हो । विषम परिस्थितिमा टिकट पाए पनि खनाल भने उत्साहित देखिएका छन् । मनोनयन दर्ता गरेसँगै उनले निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटलाई तीव्र पारेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले यो निर्वाचन क्षेत्रमा उम्मेदवार नै उठाएको थिएन । गठबन्धनका कारण तत्कालीन माओवादी उम्मेदवार नरेन्द्र साहलाई कांग्रेसले सहयोग गरेको थियो । तर यसपटक भने कांग्रेस कार्यकर्ता, समर्थक रूखमै भोट हाल्न पाइने भयो भन्दै उत्साही देखिएका छन् । उम्मेदवार खनाल जहाँ जहाँ जान्छन्, त्यहाँ भीड नै लाग्ने गरेको छ ।

कांग्रेसका उम्मेदवार खनालले लोकतन्त्र, समावेशिता, सुशासन र स्थानीय विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । स्थानीय मतदाताहरूले सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी, शिक्षा, स्वास्थ्य, सिँचाइ र कृषि विकासका विषयमा उम्मेदवारहरूबाट स्पष्ट योजना अपेक्षा गरेका छन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमाले उम्मेदवार हरिप्रसाद उप्रेती विजयी भएका थिए । एमालेले यसपटक उप्रेतीलाई दोहोर्याएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही ३ मा चार प्रमुख उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका खनाल, एमालेका उप्रेती, नेकपाका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साहबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नारायणकाजी श्रेष्ठ पूर्वगृहमन्त्री हुन् भने उप्रेती पूर्वरक्षामन्त्री हुन् । साह संविधानसभा सदस्य रहिसकेका नेता हुन् । खनाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित छन् ।