कांग्रेसमा अन्य दलका उम्मेदवारलाई गालीगलौज गर्न प्रतिबन्ध



काठमाडौं । कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारका क्रममा अन्य दलका उम्मेदवारलाई गाली नगर्ने नीति बनाएको छ ।

आइतबार बिहान कार्यसम्पादन समितिको भर्चुअल बैठकबाट पारित ‘निर्वाचन परिचालन निर्देशिका–०८२’मा प्रचार प्रसारका क्रममा गाली नगर्ने उल्लेख गरेको हो ।

‘नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ,’ निर्देशिकामा लेखिएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बनाइएको निर्देशिकामा ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो,’ भन्ने वाक्यांश उल्लेख छ ।

चुनावी मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार कांग्रेसका लागि दुश्मन नभएकाले चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकून् भनेर व्यवहारबाट सन्देश प्रवाहित गर्नुपर्छ भनेर यस्तो नीति बनाएको कांग्रेसले जनाएको छ ।
यस्तै, कांग्रेसले फागुन १ देखि २१ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले आमनिर्वाचनमा नेता कार्यकर्ता परिचालन गर्न २१ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पनि पारित गरेको छ। ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म (जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँ) नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ,’ निर्देशिकामा भनिएको छ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसहित निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा काम सकेर फेरि आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएकाबाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्नेछ ।

कांग्रेसले एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा जान नपाइने पनि निर्णय गरेको छ । कांग्रेसका सदस्यले अर्को वडामा नगएर (हाम्रो वडा हामी जिताउँछौँ) उद्घोषसहित आफ्नै वडामा खट्नुपर्ने निर्णय पनि कार्यसम्पादन समितिले गरेको हो ।