चुनावपछि पार्टी कार्यालय सानेपा पुगे गगन थापा, २० सांसद टुंग्याउँदै


काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, प्रदीप पौडेललगायतका नेताहरू बैठकमा सहभागी छन् ।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सभापति थापा पार्टी कार्यालय सानेपा पुगेका हुन् । कांग्रेसले २० समानुपातिक उम्मेदवारको नाम आज टुंगो लगाउने भएको छ ।

कांग्रेसले २० जना समानुपातिक सांसद पाएको छ । जसमा खसआर्यबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही, अर्जुननरसिंह केसी बन्ने भएका छन् ।

आदिवासी जनजातिबाट निर्वाचित हुने ६ जनामा गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे छन् ।
मधेशीबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव, दलितबाट निर्वाचित हुने तीनजनामा हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली, थारूबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुन सांसद बन्ने भएका छन् ।

निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस, एमाले,, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आइतबार ५ बजेसम्म क्लष्टर मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न निर्वाचन आयोगले पत्र पठाएको थियो ।

फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा बढी प्राप्त गर्ने रास्वपाले क्लष्टर अनुसार ५७ सांसद निर्वाचित भएको विवरण पठाउनुपर्नेछ ।

कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चारजना उम्मेदवार निर्वाचित भएको सूची क्लष्टर मिलाएर आज बुझाउने भएका छन् ।
रास्वपाको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ ।

बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीनजना मुस्लिम, आठजना दलित, नौजना मधेसी तथा चारजना थारु ‘क्लस्टरबाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताए।

दलबाट आएको नाम तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा भए आयोगले आजै निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । नमिलेमा फेरि सच्याउन समय तोकिने छ । समानुपातिक प्रणालीबाट ११० जना उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ ।