अमरेशले यसरी धम्क्याएर दागी नेतालाई लगेका थिए रास्वपाको टिकट


काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई धम्क्याएर धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा उम्मेदवारको टिकट लगेको भेटिएको छ ।

शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भिडियो क्लिप्समा उम्मेदवारको टिकट लैजान सिंहले के कस्ता हर्कत गरेका रहेछन् भन्ने एउटा पाटो खुलेको छ । धनुषाका सञ्चारकर्मी अरुण सिंहानियाको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतबाट तीन वर्ष कैद सजाय ठहरिएर जेल परेका धनुषा २ का सांसद रामविनोद साहलाई दबाब दिएर टिकट दिन लगाएको खुलेको छ।

भिडियोमा अमरेशले यादवसहित आफूले भनेको तीनजनालाई टिकट दिन पार्टी महामन्त्री बुर्लाकोटी र झासँग झगडा गरिरहेका देखिन्छन्। सिंहले बारम्बार धनुषा २ का लागि रामविनोदलाई टिकट दिन दबाब बढाउँदै ‘यस्तै हो भने पार्टीका उम्मेदवारहरू हार्ने र म मेरो क्षेत्रबाहेक कतै पनि जान्न’ भनिरहेका छन्।

मधेशको ३२ सिटमा टिकट वितरण गर्दा क्षमताका आधारमा भन्दा पनि आर्थिक चलखेलका आधारमा दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबीच निकै विवाद भयो। पार्टी सभापति रवि लामिछाने र बालेन्द्र साह बालेन जनकपुर जाँदा बसेको यात्री होटल अगाडि पार्टी कार्यकर्ताहरू भेला भएर नाराबाजी नै गरे। मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले टिकट खरिदबिक्री भएको आरोप लगाउँदै पार्टी नै छाडिन्। धनुषा २ बाट निर्वाचित सांसद रामविनोद सञ्चारकर्मी अरुण सिंघानियाको हत्यामा संलग्न रहेको ठहर हुँदै तीन वर्ष जेल परेका व्यक्ति रहेको खुल्यो।

संगठित अपराधमा जन्मकैद पाएका सञ्जय साह टकलाका मुख्य सहयोगी रहेका उनी उम्मेदवारी दर्ता अगाडि मात्र रास्वपामा प्रवेश गरेका थिए। धनुषा १ का किशोरी साह कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगबाट उम्मेदवारी रद्द भयो। महोत्तरी १ का प्रमोद महतो विवादित क्रसर व्यवसायी रहेको खुल्यो। सर्लाही ३ का नरेन्द्र साह कलवार क्यासिनो सञ्चालक रहेको खुल्यो।

सेन्ट्रल मिडिया प्रालिका सञ्चालक रहेका उनले होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगन्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो सञ्चालन गर्दै आएका छन्। भिडियोमा सिंहले धनुषा(२ का लागि रामविनोद साहलाई टिकट दिन झगडा गरिरहेका छन्।

उनले बाहुनबाहेक कसैले टिकट पाउनु हुँदैन भन्ने पक्षमा रहेको भन्दै भन्छन्, ‘बालेनजीसँग सहमति गरिसकेपछि मेरो बेइज्जत गर्नु हुन्छ। मैले वचन दिइसकेको छु। ‘अमरेश सिंह कम्प्युटर ब्रेन हो, सरेन्डर गर्ने र दास हैन ।, ‘गिरिजालाई खेलाएर आएको मान्छे हुँ, प्रचण्डलाई, ओलीलाई खेलाएको मान्छे हुँ, मजाक हो, हेप्ने ?’ सिंहले आफूले लगेका टिकट करोडौंमा बेचेको आरोप लागेको छ । दिनेश साहूले रास्वपा नेता प्रमोद न्यौपानेलाई गरेको फोनको अडियो सार्वजनिक भइसकेको छ ।