कांग्रेसमा को बन्ला दलको नेता, आज बोलाइयो सांसदहरूको बैठक


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि शुक्रबार छलफल गरिने भएको छ । त्यसका लागि दिउँसो ३ बजे कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको समितिका संयोजक प्रकाश स्नेहीले जानकारी दिए । कांग्रेसले शुक्रबार दलको नेता चयन गर्ने महामन्त्री गुरुराज घिमिरेले बताएका थिए ।

तर सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकताको विषयमा शुक्रबार पनि बहस जारी भएकाले अपराह्न छलफल गर्न लागिएको हो । कांग्रेसमा ३८ सांसद छन् ।

जसमध्ये दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहनप्रसाद आचार्य, निष्कल राईलगायतको नाम चर्चामा छ । अन्य सबै दलले दलको नेता चयन गरिसकेका छन् । तर चुनावको मतपरिणाम आएको डेढ महिना हुन लाग्दासमेत कांग्रेसले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन ।