काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको आरोपको विषयमा अनुसन्धानमा सघाउने घोषणा गरेका छन् । आफ्नो सम्पत्तिको स्रोत र दुईवटा बिमा कम्पनीमा रहेको २५–२५ लाखको सेयरका विषयमा प्रश्न उठेको भन्दै उनले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका हुन् । ‘वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्।
मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले कम्पनीमा धेरैजना सेयर होल्डर हुन सक्ने भन्दै बचाउ गरेका छन् । गुरुङले व्यक्तिगत लगानीलाई बिचौलियासँगको सम्बन्ध भन्दै विवादमा पार्न खोजिएकोमा असन्तुष्टि जनाएका छन् । ‘व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन।
लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन। आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ। तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु,’ उनले भनेका छन् ।
आफ्नो नाम व्यवसायी दीपक भट्टसँग जोडिएर समाचार आएपछि सुधनले आइतबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए । रविकै सल्लाहबमोजिम उनले स्पष्टीकरण दिएका हुन् ।













प्रतिक्रिया