आङ्देम्बे बन्लान् त कांग्रेस दलको नेता ?


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे बन्ने सम्भावना बढेको छ । सर्वसम्मत रूपमा दलको नेता छान्ने प्रक्रिया अघि बढेकाले पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बेको नाम अगाडि आएको हो । कांग्रेसले संसदीय दल नेतामा सहमति जुटाएको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेतामा सहमति जुटाएको हो।

सोमबार बिहान ११ बजे सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समितिले सभापति थापालाई आफूहरूले जुटाएको सहमति अनुसारको नाम दिनेछ। थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रस्तावका रूपमा पेस गर्नेछन्। सभापति थापाले नाम प्रस्ताव नगरून्जेल सहमति जुटिसकेको उक्त नाम सार्वजनिक नगरिने एक पदाधिकारीले जानकारी दिए।

संसदीय दल नेता केन्द्रीय कार्यसम्पादन समितिले चयन गर्न सक्दैन। यहाँ सर्वसहमति भएको विषय राख्ने मात्र हो। संसदीय दल नेता सांसदहरूले चयन गर्ने हो। त्यसका लागि पार्टीले जुटाएको सहमति अनुसारको नाममा दिउँसो १ बजे सांसदहरू बीचमा छलफल हुनेछ।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार सभापति थापाले कार्यसम्पादन समिति बैठकमा संसदीय दल नेताका लागि नाम प्रस्ताव गर्ने र दिउँसो १ बजे सांसदहरूबीच छलफल गरी नेता चयन गरिनेछ। उपसभापतिद्वय र महामन्त्रीद्वयको समितिले संसदीय दल नेताका आकांक्षी र सांसदहरूसँग पटक पटक छलफल गरी संसदीय दल नेतामा सहमति जुटाएको हो।

समितिले पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलाई निवासमै गएर भेटेको थियो भने पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता मोहन आचार्यसँग छुट्टै कुराकानी गरेको थियो। ३८ सदस्यीय कांग्रेस संसदीय दलमा शेखर कोइराला र शेरबहादुर देउवा पक्ष एक हुँदा आङ्देम्बेको पक्षमा बहुमत पुग्छ । त्यसमाथि उपसभापति शर्मा पनि एकताको सन्देश दिनुपर्ने भन्दै आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने पक्षमा देखिएपछि सभापति थापा दबाबमा परेका हुन् । थापा रसुवाबाट प्रत्यक्ष निर्वाचित आचार्यको पक्षमा सुरुमा उभिए पनि सहमतिका लागि लचक बनेको स्रोतले दाबी गर्‍यो ।