प्रधानमन्त्री बालेनलाई सांसद महावीर पुनको साथ, अध्यादेश ल्याउन आग्रह


काठमाडौं l सांसद महावीर पुनले प्रधानमन्त्री बालेनलाई साथ दिँदै विकासका कामलाई तीव्रता दिन आवश्यक परे अध्यादेश ल्याउन आग्रह गरेका छन्।

उनले ऐन–कानुनको बहाना देखाएर काम रोक्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन्। “सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नुपर्छ, कुविद्वान्‌हरूको किचकिचले विकास रोकिनु हुँदैन,” पुनले भने।

पुनका अनुसार उनले विगतमा जनताका लागि फाइदाजनक काम गर्न खोज्दा मन्त्रालयहरूले ऐन–कानुनको अभाव देखाउँदै अवरोध गरेका थिए। “म आफैं भुक्तभोगी हुँ, धेरै पटक काम अघि बढाउन खोज्दा रोकियो,” उनले बताए।

उनले जेनजी आन्दोलनपछि शिक्षामन्त्री हुँदा पनि आफूले अघि सारेका योजनाहरू कर्मचारीतन्त्रका कारण कार्यान्वयन हुन नसकेको दाबी गरे। तीनवटा अध्यादेश ल्याउने प्रयास सफल हुन नदिइएको उल्लेख गर्दै उनले त्यही कारण राजनीतिमा सक्रिय भएर सांसद बनेको बताए।

पुनले अब विकासका काममा ढिलाइ नगर्न सरकारलाई आग्रह गर्दै स्पष्ट निर्णय लिनुपर्नेमा जोड दिएका छन्।