प्रधानमन्त्री बालेनलाई राष्ट्रपतिको साथ संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी


काठमाडौं l राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले सोमबार उक्त अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि आज राष्ट्रपति पौडेलले त्यसलाई जारी गरेका हुन्।

यसअघि सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये सातवटा जारी गरेका राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए। उनले उक्त अध्यादेशमा रहेको प्रावधानप्रति असहमति जनाउँदै ‘कुल सदस्य संख्याको बहुमत’ का आधारमा निर्णय हुनुपर्ने धारणा अघि सारेका थिए।

प्रस्तावित व्यवस्थाअनुसार परिषद्को बैठकमा चार जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। यसले छ सदस्यीय परिषद्मा तीन जनाले मात्र निर्णय गर्न सक्ने अवस्था सिर्जना हुने भन्दै राष्ट्रपतिले चिन्ता व्यक्त गरेका थिए।

तर मन्त्रिपरिषद्को सोमबारको बैठकले सोही अध्यादेशलाई ‘हुबहु’ पुनः सिफारिस गरेपछि राष्ट्रपतिले अन्ततः अध्यादेश जारी गरेका हुन्।