काठमाडौँ । नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ। बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। यस आदेशसँगै फिल्म आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले सम्मानित अदालतको आदेशसँगै फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन हुने जानकारी दिए। उनले भने, ‘हामीले कुनै पनि समुदाय वा वर्गको भावनामा ठेस पुग्ने गरी फिल्म तयार गरेका थिएनौँ। हामीले आमा र छोरीको कथामा फिल्म निर्माण गरेका छौँ। फिल्मले छोरीका लागि आमाले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ।’
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत लगायतकाे अभिनय रहेको छ ।














प्रतिक्रिया