इजरायलमा २३ सय जना केयरगिभरका लागि आवेदन खुला


काठमाडौं l वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) मा २,३०० सहायक श्रमिक (केयरगिभर) छनोट गर्न आवेदन खुला गरेको छ। योग्य उम्मेदवारहरूले बुधबारदेखि असार ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

छनोट प्रक्रियामा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने व्यवस्था गरिएको छ। नेपाल–इजरायल श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत कामदार पठाइनेछ।

विभागका अनुसार छनोट भएकामध्ये १,००० जनालाई तत्काल पठाइनेछ भने अन्तिम छनोट लक्की ड्रमार्फत गरिनेछ। छनोट भएका श्रमिकहरूले दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिहरूको हेरचाह गर्नुपर्नेछ। करार अवधि अधिकतम ५ वर्ष रहनेछ।

इजरायल जाने केयरगिभरको मासिक तलब ६,४४३ इजरायली शेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) रहेको छ। तर खाना र आवासको खर्च श्रमिकले आफैं बेहोर्नुपर्नेछ, साथै जाने सम्पूर्ण लागत शुल्क पनि श्रमिककै जिम्मामा हुनेछ।

इजरायलले सन् २०२२ अगस्टदेखि नेपालबाट दीर्घकालीन स्याहार केन्द्रका लागि केयरगिभर लैजान सुरु गरेको हो। सुरुमा सीमित संख्यामा मात्र माग भए पनि अहिले इजरायलमा श्रमिक अभाव बढ्दै जाँदा नेपाली कामदारको माग विस्तार हुँदै गएको छ।