प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध आज संसदमा प्रतिपक्षीको चर्को प्रतिबादको तयारी


काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरूले संसद बैठकमा कडा प्रतिवाद गर्ने तयारी गरेका छन्।

आइतबारको बैठकमा प्रधानमन्त्री शाह आकस्मिक रूपमा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा व्यापक विवाद उत्पन्न भएको छ।

हिजोकै बैठकमा केही प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। तर, डीपी अर्याल ले त्यस विषयमा तत्काल कुनै निर्णय वा सुनुवाइ नगरेका थिए।

यसअघि संसद नियमावलीसँग सम्बन्धित विषयमा सभामुखले प्रक्रिया अगाडि बढाएको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएपछि आइतबारको बैठक दिनभर तनावपूर्ण बनेको थियो। आजको बैठकमा भने प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति मुख्य राजनीतिक एजेन्डा बन्ने देखिएको छ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकअघि प्रतिपक्षी दलका प्रमुख नेताहरूबीच अनौपचारिक छलफल हुने जानकारी ऐन महर ले दिएका छन्।

संसदमा आज प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण माग, रेकर्डबाट हटाउने माग तथा सरकारको धारणा स्पष्ट पार्नुपर्ने विषयमा प्रतिपक्षी दलहरूले संयुक्त रूपमा आवाज उठाउने सम्भावना रहेको छ।