सार्वजनिक कार्यक्रममा आज पहिलोपटक देखिँदै ओली, एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन गर्ने


काठमाडौं l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्।

उनी एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको कार्की बैंक्वेट पुग्ने कार्यक्रम छ। बिहान ११ बजे सुरु हुने कार्यशालाको उद्घाटन ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्य ले जानकारी दिए।

‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक उक्त कार्यशालामा पार्टीका सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। साथै प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको समेत उपस्थिति रहने बताइएको छ।

एमालेले सदस्यता नवीकरण र संगठन विस्तारलाई केन्द्रमा राखेर आयोजना गरेको यो कार्यशाला दुई दिनसम्म सञ्चालन हुनेछ।