कांग्रेसको क्रियाशील सदस्यतामा उत्साहजनक ५ लाख ३८ हजार भन्दा धेरै सहभागिता


काठमाडौं l नेपाली कांग्रेसले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभरका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको जनाएको छ।

पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये शुक्रबार राति १२ बजेसम्म वडा सभापतिमार्फत ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी (NCID) प्राप्त गरिसकेका छन्।

त्यसैगरी, १ लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरिसकेको र उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।

कांग्रेसले इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ।

पार्टीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहनेछ।

यस अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी भएका सबै सदस्य तथा पार्टी कार्यकर्ताप्रति नेपाली कांग्रेसले हार्दिक धन्यवाद व्यक्त गरेको छ।