नेयमारबिनै विश्वकपको मैदानमा उत्रिदै ब्राजिल


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले आइतबार बिहान मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ। तर प्रतियोगिताको पहिलो खेलअघि नै ब्राजिललाई ठूलो झट्का लागेको छ। टोलीका स्टार फरवार्ड नेयमार चोटका कारण उक्त खेल गुमाउने भएका छन्।

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले ३४ वर्षीय नेयमार अझै पूर्ण रूपमा फिट नभएकाले मोरक्कोविरुद्ध मैदान उत्रन नसक्ने पुष्टि गरेका छन्। काल्फ इन्जुरीबाट पीडित नेयमार हाल पुनःस्थापनाको चरणमा छन् र उनले अझै टोलीसँग पूर्ण प्रशिक्षण सुरु गरेका छैनन्।

एन्सेलोटीका अनुसार नेयमारले अर्को सातादेखि टोलीसँग प्रशिक्षण थाल्ने अपेक्षा गरिएको छ। यद्यपि जुन २० मा हाइटीविरुद्ध हुने दोस्रो खेलमा उनको सहभागिता हुने वा नहुने विषयमा अझै अन्योल कायम छ। ब्राजिलले समूह चरणको अन्तिम खेल जुन २४ मा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।

नेयमारको अवस्थाबारे बोल्दै एन्सेलोटीले भने, “उनी सकेसम्म छिटो मैदानमा फर्किन कडा मेहनत गरिरहेका छन्। आशा छ, अर्को सातासम्म निको भएर टोलीमा पुनः सामेल हुनेछन्। उनको प्राविधिक क्षमता मात्र होइन, अनुभवले पनि युवा खेलाडीहरूलाई ठूलो प्रेरणा दिन सक्छ।”

पछिल्ला केही वर्षयता चोटसँग संघर्ष गरिरहेका नेयमारले सन् २०२३ यता ब्राजिलका लागि खेल्न पाएका छैनन्। त्यसपछि पनि उनले चेल्सीका स्ट्राइकर जोआओ पेड्रो र टोटनह्यामका फरवार्ड रिचार्लिसनलाई पछि पार्दै विश्वकप टोलीमा स्थान बनाउन सफल भएका थिए।

ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले राष्ट्रिय टोलीका लागि १२८ खेलमा ७९ गोल गरेका छन्। उनले महान् फुटबलर पेलेको ७७ गोलको कीर्तिमानसमेत तोडेका छन्। यसअघि उनी २०१४, २०१८ र २०२२ को विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका छन्। यसपटक पनि समर्थकहरूले उनलाई विश्वकप मैदानमा देख्ने आशा गरेका छन्, तर त्यो प्रतीक्षा केही दिन अझै लम्बिने देखिएको छ।