प्रथम राष्ट्रिय महाधिवेशनबारे मधेस प्रदेशका सांसदसँग सभापति रवि लामिछानेको छलफल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेस प्रदेशका सांसदहरूसँग पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गरेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा मधेस प्रदेशका सांसदहरूको सहभागिता रहेको थियो। बैठकमा असार ७, ८ र ९ गते चितवन मा आयोजना हुने रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी, व्यवस्थापन तथा प्रदेशस्तरबाट हुने सहभागिताका विषयमा केन्द्रित भएर छलफल भएको जनाइएको छ।

छलफलका क्रममा महाधिवेशनलाई सफल, व्यवस्थित र उपलब्धिमूलक बनाउन आवश्यक तयारी, संगठन सुदृढीकरण तथा पार्टीका भावी कार्यदिशाबारे समेत विचारविमर्श भएको थियो।

रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक विकास र भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशनको तयारीका लागि पार्टी नेतृत्वले विभिन्न प्रदेशका नेता, सांसद तथा कार्यकर्तासँग निरन्तर परामर्श र छलफललाई तीव्रता दिएको छ।