रास्वपा केन्द्रीय समिति बैठकमा भावुक बने रवि, सम्झिए पार्टी दर्तादेखि हत्कडीसम्मका संघर्ष


भरतपुर । प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति बैठक भरतपुर, चितवनमा सुरु भएको छ।

बैठकमा पार्टी सभापति रवि लामिछाने भावुक बनेका छन्। उनले पार्टी स्थापना र दर्ताको सुरुआती संघर्षदेखि हालसम्मका विभिन्न उतारचढाव स्मरण गरेका हुन्।

लामिछानेले पार्टी दर्ताका लागि आवश्यक नागरिकताको प्रमाण जुटाउनुपर्दा भोग्नुपरेको कठिनाइ, संगठन निर्माणका क्रममा सामना गर्नुपरेका चुनौती तथा आफूलाई प्रहरीले हत्कडी लगाएको घटनासम्म सम्झिएका थिए।

संघर्षपूर्ण यात्राबारे चर्चा गर्दै उनले ती घटनाहरूले आफूलाई अझ दृढ बनाएको उल्लेख गरे। साथै, पार्टीलाई आजको अवस्थासम्म पुर्‍याउन नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदैछ।