रवि लामिछानेको दाबी : “देश रास्वपाको हातमा छ, देश सुरक्षित छ”


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले देश रास्वपाको हातमा रहेको र देश सुरक्षित रहेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई देशकै सबैभन्दा शक्तिशाली राजनीतिक शक्ति बनाएको दाबी गरे।

“देश रास्वपाको हातमा छ, देश सुरक्षित छ। बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ,” लामिछानेले भने।

उनले लोकतन्त्रका स्थायी मान्यता, नेपालको संविधान, मानवअधिकार तथा नागरिक स्वतन्त्रताजस्ता उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि रास्वपा प्रतिबद्ध रहेको बताए।

लामिछानेले पार्टीमाथि विभिन्न चुनौती र दबाब आए पनि रास्वपाको यात्रा रोक्न वा पार्टीलाई कमजोर बनाउन अब कसैसँग शक्ति नरहेको दाबी गरे। उनले पार्टी संगठन, विचार र जनसमर्थनका आधारमा रास्वपा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गरे।

चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।