झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्री वालेन्द्र शाह को नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न चुनौती दिएका छन्।
मंगलबार झापामा आयोजित कांग्रेस जिल्ला भेलालाई सम्बोधन गर्दै शर्माले रास्वपाको आधिकारिक दृष्टिकोण सार्वजनिक हुनुपर्ने बताएका हुन्। उनले प्रश्न गर्दै भने, “रास्वपा मान्दछ कि प्रधानमन्त्रीले भनेझैँ नेपालले भारतको सीमा मिचेको छ? यदि हो भने कहाँ–कहाँ मिचिएको हो? रास्वपाको आधिकारिक दस्तावेज बोलोस्।”
शर्माले रास्वपाले प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्छ वा गर्दैन भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए। यदि पार्टी उक्त अभिव्यक्तिसँग सहमत छैन भने संसदमा गएर प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले केही साताअघि संसदमा “भारतले मात्र होइन, नेपालले पनि विभिन्न ठाउँमा भारतको जग्गा मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको थियो। प्रमुख प्रतिपक्षी दलहरूले संसदमा विरोध जनाएका थिए भने केही सीमा विज्ञहरूले नेपालले भारतीय भूभाग अतिक्रमण गरेको दाबी तथ्यगत रूपमा पुष्टि नभएको बताएका थिए।
यस विषयमा नेपालको परराष्ट्र मन्त्रालय ले प्रधानमन्त्रीको भनाइ सीमावर्ती क्षेत्रमा देखिने ‘क्रस–बोर्डर अकुपेसन’ अर्थात् जोतभोग तथा भूउपयोगसँग सम्बन्धित प्राविधिक अवस्थालाई संकेत गरेको भन्दै स्पष्टीकरण दिएको थियो।

















प्रतिक्रिया