रास्वपा महाधिवेशनमा उम्मेदवार सूची विवाद, नेताहरू नै असन्तुष्ट


भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानअघि उम्मेदवारहरूको नामावली क्रमाङ्कलाई लिएर विवाद उत्पन्न भएको छ। पार्टीका केही जिम्मेवार नेताहरू र उम्मेदवारहरूले नै कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार धनञ्जय रेग्मी ले पार्टीको व्यवस्थापन र कार्यशैलीमाथि प्रश्न उठाउँदै महाधिवेशनमा देखिएको अव्यवस्थाले रास्वपाको छविमा नकारात्मक असर पर्ने बताएका छन्। उनले उम्मेदवारहरूको नाम क्रमाङ्कमा भएको फेरबदलले मतदान प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको दाबी गरेका छन्।

बुधबार मध्यरातदेखि सुरु भएको विद्युतीय मतदानका क्रममा केही उम्मेदवारहरूले शीर्ष नेतृत्वले जिताउन चाहेका व्यक्तिहरूलाई सूचीको अगाडि राखिएको आरोप लगाएका छन्। यद्यपि यसबारे पार्टी नेतृत्वको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

संस्थापन निकट नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले सुरुमा उम्मेदवारी दर्ता गर्दा आएको क्रमभन्दा फरक नम्बरमा नाम परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। त्यसैगरीआशिका तामाङ र गणेश कार्कीले पनि आफ्नो नाम सूचीमा तल सारिएको गुनासो गरेका छन्।

महाधिवेशनको मतदान प्रक्रिया जारी रहँदा उठेका यी प्रश्नहरूले पार्टीभित्र पारदर्शिता, आन्तरिक लोकतन्त्र र निर्वाचन व्यवस्थापनबारे बहसलाई थप तीव्र बनाएको छ। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।