चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बब्लु गुप्ता ले पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै गुप्ताले विधि, प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै जनतामुखी राजनीतिलाई व्यवहारमा उतार्न आफू सदैव प्रतिबद्ध रहेको बताएका छन्। उनले पार्टीभित्र Gen Z मैत्री सोच, नीति तथा दस्तावेज निर्माणदेखि त्यसको प्रभावकारी कार्यान्वयनसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्।
गुप्ताले युवाको आवाज, आकांक्षा र नेतृत्वलाई संस्थागत गर्न निरन्तर प्रयासरत रहेको बताउँदै परिवर्तनको बहसमा मात्र नभई त्यसको कार्यान्वयनमा समेत जिम्मेवार सहभागी बन्ने अवसर पाएको धारणा राखेका छन्।
आफ्नो अनुभव, समर्पण, ऊर्जा र प्रतिबद्धतालाई संगठनको हितमा अझ व्यापक रूपमा प्रयोग गर्दै पार्टीलाई थप बलियो, व्यवस्थित, समावेशी र भविष्यमुखी बनाउन सह–महामन्त्री पदमा दाबी प्रस्तुत गरेको उनले बताएका छन्।
उनले आफ्नो उम्मेदवारी पदप्राप्तिको आकांक्षा मात्र नभई संगठनप्रतिको उत्तरदायित्व, युवाप्रतिको विश्वास र साझा सपनाप्रतिको प्रतिबद्धताको अभिव्यक्ति भएको उल्लेख गर्दै प्रतिनिधिहरूसँग समर्थन र सहयोगको अपिल गरेका छन्।
“अनुभवी पुस्ताको मार्गदर्शन र युवा पुस्ताको ऊर्जा जोडेर संगठनलाई अझ सशक्त, प्रभावकारी र जनप्रिय बनाऔँ,” भन्दै उनले युवाको सपना, संगठनको शक्ति र जनताको विश्वासलाई एक सूत्रमा बाँध्ने अभियानमा साथ दिन आग्रह गरेका छन्।

















प्रतिक्रिया