महामन्त्रीका उम्मेदवार मनिष झाको आरोप: “पार्टीभित्र गुटबन्दीको प्रयास भयो” गरे कारबाहीको माग


भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले गुटबन्दीमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न पार्टी सभापति रवि लामिछानेलाई सार्वजनिक रूपमा आग्रह गरेका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले भने, “संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न।”

झाले आफू पद वा मन्त्रालयको लोभमा नभएको दाबी गर्दै पार्टीको व्यवस्थापकीय संरचना सुधार्ने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए। उनका अनुसार उनले सभापति र उपसभापतिलाई स्पष्ट रूपमा भनेका थिए कि आगामी पाँच वर्षसम्म कुनै पनि मन्त्रालयको दाबी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “मलाई मन्त्रालयगत लोभ छैन। पार्टी सुधार्नु छ, पार्टीको व्यवस्थापकीय संरचना सुधार्नु छ। त्यसैले मलाई यो मौका दिनुस्। पाँच वर्षसम्म कुनै पनि मन्त्रालय दाबी गर्दिनँ। यो कार्यकाल पार्टीको कमजोर देखिएको पक्ष सुधार्न चाहन्छु।”

मनिष झाको यो अभिव्यक्तिलाई रास्वपाको नेतृत्व चयन प्रक्रिया र पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।