नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’


काठमाडौं – पौराणिक कथावस्तुमा आधारित ठूलो बजेटको ड्रामा फिल्म ‘नागबन्धम’ नेपालभर प्रदर्शनमा आएको छ। क्यापिटल वर्ल्डमार्फत नेपालमा वितरण गरिएको फिल्म शनिबार साँझदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन सुरु भएको हो।

निर्माण पक्षका अनुसार फिल्मले दर्शकलाई ‘लार्जर-द्यान-लाइफ’ सिनेमाटिक अनुभव प्रदान गर्नेछ। फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना तथा श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

फिल्मका लेखक तथा निर्देशक अभिषेक नामा हुन्। फिल्ममा मुख्य पात्र रुद्रको भूमिकामा विराट कर्ण देखिएका छन्। रुद्रलाई भगवान् महादेव (शिव) को शक्तिशाली तथा उग्र स्वरूपका रूपमा चित्रण गरिएको छ, जो आफ्नो समुदाय र धार्मिक सम्पदाको रक्षा गर्न दुष्ट शक्तिविरुद्ध संघर्षरत देखिन्छन्।

फिल्ममा विराट कर्णसँगै नभा नतेश र ऐश्वर्या मेननको मुख्य भूमिका रहेको छ। यस्तै महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। ‘केजीएफ’ मा ‘गरुडा’ पात्रबाट चर्चित बनेका रामचन्द्र राजु यस फिल्ममा खलनायकको भूमिकामा प्रस्तुत भएका छन्।

एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डी हुन्। पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर निर्माण गरिएको फिल्मले विशेषगरी हिन्दु धर्म र संस्कृति प्रति रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।