२५० को सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको करदाता प्रोत्साहन उपहार


काठमाडौं । सरकारले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार पाउनेहरूको नाम तथा कुपन नम्बर सार्वजनिक गरिएको हो।

कार्यक्रमअन्तर्गत शिव कृष्ण जनरल स्टोरबाट रु. २५० को सामान खरिद गरेका एक उपभोक्ताले रु. १० लाखको बम्पर उपहार जितेका छन्। १० लाख रुपैयाँको उपहार विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ।

विजेता उपभोक्ताले साउन ७ गते सामान खरिद गरेका थिए। उपहार रकममा लाग्ने कर कटाएर बाँकी रकम उपभोक्तालाई प्रदान गरिने आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भूसालले जानकारी दिए।

भूसालका अनुसार अन्य १५ जना उपभोक्ताले जनही रु. १ लाखको उपहार जितेका छन्। करदाताको गोपनीयता कायम गर्न एक लाख रुपैयाँ उपहार विजेताहरूको परिचय भने सार्वजनिक नगरिएको उनले बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार हरेक महिनाको १६ गते अघिल्लो महिनाको १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तामध्येबाट उपहार घोषणा गरिनेछ। यस्तै, महिनाको अन्तिम दिन १६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको खरिदका आधारमा अर्को उपहार घोषणा गरिने व्यवस्था छ।

बैंक तथा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। तर उपहार प्राप्त गर्न खरिदको बिल भने उपभोक्तासँग अनिवार्य रूपमा हुनुपर्नेछ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने खरिदपछि अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्नुपर्नेछ। उक्त बिल आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी उपहारमा सहभागी हुने कुपन लिनुपर्ने व्यवस्था गरिएको छ।