काठमाडौं । प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले ग्यास अभाव समाधानका नाममा उद्योगमन्त्रीले व्यक्तिगत रूपमा ग्यास बाँड्दै हिँडेर मात्रै समस्या समाधान नहुने बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले केही व्यक्तिलाई फोन गरेर ग्यास उपलब्ध गराउनुको सट्टा राज्यको प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
उनले हजारौँ तथा लाखौँ नागरिक ग्यासका लागि घण्टौँ लाइनमा बसिरहेको अवस्थामा मन्त्रीले केही व्यक्तिलाई व्यक्तिगत रूपमा सहयोग गरेर मात्रै समस्या समाधान गर्न नसक्ने बताइन्।
‘स्टन्ट गरेर देश बन्दैन, प्रणाली सुधार्नुपर्छ,’ ओलीले भनिन्। मन्त्रीको जिम्मेवारी सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा काम गराउनु भएको भन्दै उनले ‘राज्यको दया होइन, हामीले व्यवस्थापन खोजेका हौँ’ बताइन्।
ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै ओलीले प्रधानमन्त्रीले उद्योगमन्त्रीसँग स्पष्टीकरण मागेर तत्काल समस्या समाधान गर्न पहल गर्नुपर्ने मागसमेत गरिन्।





















प्रतिक्रिया