काठमाडौं । विनाशकारी बाढीमा घरबारसँगै उपचारका लागि जम्मा गरेको रकमसमेत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया काठमाडौं मेडिकल कलेज (केएमसी) मा सुरु भएको छ।
बाढीले परिवारको आर्थिक अवस्था तहसनहस बनाएपछि मिर्गौला रोगको उपचारमा समस्या भोगिरहेकी विष्णुकुमारीलाई नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक सुनील शर्माले सहयोग गरेका हुन्।
शर्माले विष्णुकुमारीको मिर्गौला प्रत्यारोपणमा लाग्ने सम्पूर्ण खर्च केएमसीले व्यहोर्ने घोषणा गरेका छन्। अस्पतालमा उपचाररत अवधिभर बिरामी र कुरुवाका लागि खानाको व्यवस्थासमेत निःशुल्क गरिने जनाइएको छ।
आफ्नो परिवारको सर्वस्व बाढीले बगाएको र उपचारका लागि समेत रकम नभएको अवस्थामा सहयोग पाएपछि विष्णुकुमारीका श्रीमान् राजकुमार डंगोल भावुक बने।

उनले भने, “हाम्रो सर्वस्व बगायो भन्ने पीडा त छँदै थियो। तर आज भगवानरूपी सुनील सरले हामीलाई नयाँ जीवन दिनुभयो। संसारमा सत्कर्म गर्ने मानिस अझै जीवित छन् भन्ने महसुस भएको छ।”
केएमसीका अनुसार विष्णुकुमारी अस्पतालमा भर्ना भएदेखि मिर्गौला प्रत्यारोपण सम्पन्न भएर डिस्चार्ज हुँदासम्म आवश्यक चिकित्सा सेवा, औषधि र बेड चार्जलगायत उपचारसम्बन्धी सम्पूर्ण खर्च निःशुल्क हुनेछ।
नेता शर्माले पैसाको अभावमा कुनै पनि नेपालीले उपचार नपाएर ज्यान गुमाउन नपरोस् भन्ने आफ्नो मान्यता रहेको बताएका छन्।
“पैसा नभएका कारण कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउनु पर्दैन,” शर्माले भनेका छन्।
बाढीका कारण सर्वस्व गुमाएकी विष्णुकुमारीको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया सुरु भएपछि उनको परिवारमा आशा र खुसी फर्किएको छ।




















प्रतिक्रिया